रङ्गीन पर्व होली सचेतनासाथ मनाउन मुख्यमन्त्री भट्टद्वारा शुभकामना
धनगढी । रङ्गीन पर्वकाे रुपमा मनाइने होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिन मनाईन्छ ।होली खेल्ने दिनभन्दा एक दिनपहिला राति होलीका दहन गरिन्छ । होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक–अर्कामाथि फाल्ने चलन छ । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुश्मनी बिर्सेर मान्छे एक–अर्कासित मिल्छन् ।
हिन्दू धर्म मान्नेहरुको बाहुल्य भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुन्छ । फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा वृद्धवृद्धाहरु हातमा रङ्ग लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी दुश्मनीलाई बिर्सेर उत्साह–उमंगका साथ मनाउने गर्छन् ।यसरी शुरू भएको होली पर्व पूर्णिमाका दिन चिरलाई ढालेर जलाएपछि होली सम्पन्न हुन्छ । तराईमा भने भोलिपल्ट होली खेलिन्छ ।
होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यसै अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले देश विदेशमा रहेका प्रदेशवासीलाई शुभकामना सन्देश ब्यक्त गर्दै काेराेना महामारीका कारण स्वास्थ्यका मापदण्ड अपनाएर स्वस्थ मनाेरञ्जन लिन आग्रह गरेका छन् ।