एमालेमा नेपाल समूहले पार्टीमा समानान्तर कमिटी बनाउने
काठमाडौं । शुक्रवार बसेको नेकपा एमाले माधव नेपाल समूहको बैठकले पार्टीका हरेक कमिटीमा समानान्तर कमिटी बनाएर अघि बढ्ने निर्णय गरेको छ। ओलीले स्थायी कमिटी, पदाधिकारी, प्रदेश कमिटीमा माधव समूहलाई पाखा लगाएपछि नेपाल समूहले आफूनिकट नेताको भेला (स्थायी कमिटी बैठक) गरेर सबै संगठनमा यस्तो कमिटी बनाउने निर्णय गरेको हो।
शुक्रबार नयाँ बानेश्वरको अर्याल होटलमा नेपाल समूहको आकस्मिक बैठक बसेको थियो। उता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समूहमा रहेका सबै प्रदेश इन्चार्ज बर्खास्त गर्दै आफ्ना समूहका नेतालाई जिम्मेवारी दिएको थियो। साथै माओवादी केन्द्रबाट आएका नेताहरूको ओली समूहले पदीय व्यवस्थान पनि गरेको थियो।
बैठकले ओलीले गरेको सबै निर्णय अस्वीकार गर्ने र आगामी चैतको पहिलो हप्तामा समानान्तर कमिटी घोषणा गर्ने निर्णय गरेको बैठक पछि नेता भीम रावलले बताए। यो समूहले शनिबार पनि आफ्नो पक्षको केन्द्रीय समिति र संसदीय दलको बैठक डाकेको छ।
बैठकले ओलीले पार्टी फुटाउने उद्देश्यसाथ आज यस्तो कदम चालेको पनि निर्णय निकालेको छ।