समाजकाे सही रुपान्तरणमा महिला सहभागिता आवश्यक : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले नेपालकाे संविधानले महिलालाई समान अधिकार दिएकाेले सहभागीता प्रतिशत पनि समान हुनुपर्ने बताएका छन् । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालयले धनगढीमा आयोजना गरेकाे कार्यक्रममा उनले अब बन्ने कानूनमा महिला सहभागिता प्रतिशत पनि बढाउनुपर्ने बताएका हुन् ।
नारी दिवस औपचारिकतामा सिमित नहुनुपर्ने भन्दै मुख्यमन्त्री भट्टले भने, ‘समग्र रूपमा महिलालाई अधिकार दिन आवश्यक छ ।’ समाजकाे सही रुपान्तरणमा महिला सहभागिता आवश्यक रहेकाले प्राप्त अधिकारको रक्षा गर्नु अहिलेको सबै भन्दा ठुलो चुनौती रहेको उनकाे भनाई छ । उनले छाउपडी प्रथा, घरेलु हिंसा, सामाजिक हिंसा रोक्नका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्ने बताए।
महिला हिंसासम्बन्धी घटना देशैभरि घटे पनि केही त्यस्ता प्रतिनिधि घटनाका कारण सुदूरपश्चिम प्रदेशमा महिला हिंसासम्बन्धी घटना अलि बढी घटेको देखिएको मुख्यमन्त्रीको भनाइ थियो। उनले प्रदेशमा महिला हिंसासम्बन्धी घटना न्यूनीकरणका लागि कानून र योजना बनाउने कार्यमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
‘संविधानले लैङ्गिक भेदभाव विना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तकाे अधारमा सहभागी हुने हक सुनिश्चित गरेकाे भएपनि अझै समाजिकरुपमा देखिएका विकृति, विसंगति र महिलामाथि गरिने भेदभाव अन्त्यकालागि सामाजिक न्यायसहित रुपान्तरणकाे अभियानमा सहभागी हुन आग्रह गर्दछु।’
कार्यक्रममा विभिन्न झाँकि समेत देखाइएको थियो । आज देशैभर ‘महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएकाे छ ।