प्रचण्ड-नेपाल समुह एमाले र माओवादी भएरै सर्वोच्चको निर्णयप्रति कानुनी उपचार खोज्ने
काठमाडाैं । प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चले नेकपाबारे गरेको निर्णयप्रति गम्भीरतासाथ लिएको बताएका छन्। आज पेरिसडाँडामा बसेको उक्त समूहको स्थायी समितको बैठकमा सर्वोच्च अदालतले गरेको निर्णयबारे निकै गहिरो ढंगले छलफल भएको उनले बताए।
नेकपा नामका लागि आफूहरूले दिएको रिट निवेदनभन्दा बाहिर गएर सर्वोच्चले फैसला गरेको र यसलाई राजनीतिक विषय बनाएको प्रति उनले असन्तुष्टि व्यक्त गरे। ‘रिट निवेदकभन्दा, मागदाबीभन्दा बाहिर गएर पार्टी विभाजन गर्ने फैसला सर्वोच्चले सुनायो। यसप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ। हाम्रो गम्भीर असहमति छ।’
यसबारे कानुनी ढंगले उपचार खोज्ने पनि बैठकमा निर्णय भएको उनले बताए। २०७५ जेठ ३ गते भएको एकताको उद्देश्यलाई गम्भीरसाथ लिएर अगाडि बढ्ने छलफल भएको पनि उनले सुनाए। पार्टी एकता सही भएको समीक्षा गरिएको र नेपालका कम्युनिष्ट एकतालाई जारी राखिएको उनको भनाइ थियो।
सर्वोच्चको फैसलाप्रति असहमति र न्यायिक पुनरावलोकनमा जाने पनि उलने बताए। पार्टी एकता सही हो वा गलत भन्ने पत्रकारको प्रश्नमा उनले स्पष्ट उत्तर दिएनन्। तर तत्काललाई साबिकै नेकपा माओवादी र एमाले भएर जाने र निर्वाचन आयोगमा गएर टुंगो लाग्ने बताए। साथै एकताको पहल जारी राख्ने पनि उनको भनाइ थियो।