भारतबाट नेपाल फर्किरहेका चार जना नेपालीको सवारी दुर्घटनामा मृत्यु
भारतबाट नेपाल फर्किन लागेका दैलेखका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका–६ खर्चेगैराका कालो रावलकाे परिवारका ३ सदस्यसहित नेपाल फर्किन लागेका चार जनाको मृत्यु भएको हो।
रोजगारीको शिलशिलामा भारत गएका उनीहरु बम्बईबाट आउने क्रममा उत्तर प्रदेशको नोयडा भन्ने ठाउँमा गाडी दुर्घटना हुँदा मृत्यु भएको हो। दुल्लु नगरपालिका–६ का वडाध्यक्ष बखत बहादुर खड्काका अनुसार नेपाल फर्किन लागेका कालो रावल, उनकी श्रीमती बुदी रावल, सात बर्षीय छोरा टोपेन्द्र रावल र सँगै यात्रा गरिरहेका तिलक घर्तीको दुर्घटनामा मृत्यु भएको हो।
‘उहाँहरु नेपाल फर्किन लाग्नुभएको रहेछ, गाडी दुर्घटनामा उहाँको परिवारको मृत्यु भएको भन्ने खबर मैंले फेसबुकबाट थाहा पाएको हुँ,’ वडा अध्यक्ष खड्काले भने, ‘हाललाई सनाखत भएका उहाँहरु नै भन्ने छ, विस्तृत जानकारी नै आएको छैन।’