Dashain Suvakamana

ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले दिँदैन : पौडेल

कांग्रेस नेता रामचन्द्र पौडेलले नेकपाको प्रचण्ड–माधव समूहको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा सकारात्मक हुन सकिने बताएका छन् । व्यवस्था र संविधान नै जोखिममा पारेकाले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने उनको भनाइ छ ।

‘कांग्रेसकै नेतृत्वमा हुनुपर्छ भन्ने छैन । यदि यस्तो भयो भने कांग्रेस अरूको खेलौना भएर भूमिकाविहीन हुन सक्छ । देशको अहिलेको संकट अरूलाई साथ दिएर पनि पार लगाउन सकिन्छ । त्यसका लागि प्रचण्ड–माधव समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सकिन्छ,’ प्रेस युनियन चितवनले बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले भने । तर, त्यसका लागि छलफल आवश्यक रहेको उनको भनाइ छ ।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रतिनिधिसभामा कांग्रेससँग एकचौथाइ सिट नभएको र अरूसँग मिल्नुपर्ने भएकाले सरकारमा जाँदा पनि कसरी र किन जाने भन्ने विषयमा औचित्य पुष्टि गर्नुपर्ने पौडेलको भनाइ छ । कोसँग कसरी मिल्ने भन्ने विषयमा सल्लाह भइरहेको उनले बताए । ‘यथास्थितिले देश चल्दैन, प्रतिनिधिसभाको विघटनले गर्दा फेरि नेपालको संसदीय प्रणालीमा एउटा ठूलो हल्लीखल्ली मच्चिएको छ । यसमा परिवर्तन आवश्यक छ,’ उनले भने ।

कांग्रेसले आफ्नो हैसियतअनुसार जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ भन्दै उनले अहिलेको संकटबाट देश र व्यवस्थालाई पार लगाउने जिम्मेवारी कांग्रेसबाहेक अरूसँग नभएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.