नेकपा (बहुमत)पक्षकाे बैठक: संविधान रक्षाकाेनिम्ति सहकार्य र आन्दाेलन
धनगढी । नेकपाको बहुमत समूह आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमाथि दबाब बढाउन आक्रामक ढंगले प्रस्तुत हुने भएको छ ।पटकपटक गएर आधिकारिकताको दावी पेश गरेपनि बेवास्ता गरेको भन्दै नेकपा बहुमत (प्रचण्ड–नेपाल) समूहले आयोगमाथि दबाब बढाउने निर्णय गरेको छ।
नेकपा (बहुमत) समूहको केन्द्रीय कमिटीको आज बसेको बैठकले आधिकारिकताबारे निर्णय दिन ढिला गरेकोमा निर्वाचन आयोगप्रति खेद व्यक्त गरेको छ। बैठकपछि नेकपा नेता भीम रावलले भने–‘तत्काल राज्यको कानुन, नेकपाको अन्तरिम विधान २०७५, लोकतान्त्रिक प्रणाली र मान्यता अनुरुप निष्पक्ष एवम् न्याय संगत निर्णय गर्न निर्वाचन आयोग समक्ष हाम्रो बैठकले पुन जोडदार माग गरेको छ ।
लोकतन्त्रको स्वच्छ विकास र सुदृढिकरणको लागि निर्वाचन आयोगको निष्पक्ष एवम् कानुनसंगत भुमिका महत्वपूर्ण रहेको कुरा हामिले मानेका छौँ। त्यो तथ्यलाई मनन गर्नुका साथसाथै ढिला न्याय दिनु भनेको अन्तत् न्याय नदिनु सरह हो भन्ने कुरालाई समेत सम्बन्धित निकायले ध्यान दिनुपर्छ भन्ने कुराको पनि बैठकले स्मरण गराएको छ।’
यस्तै आजको बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित प्रभु शाह, महेश बस्नेत, कर्णबहादुर थापा, शान्ता चौधरी र सुर्य थापालाई केन्द्रीय कमिटीको सदस्यबाट ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी दिए।साथै बैठकले संविधानको रक्षाको निम्ति आन्दोलन गर्ने राजनीतिक दलसँग सहकार्यको लागि आग्रह गरेको छ ।