Dashain Suvakamana

नेकपा(बहुमत) ले अन्दाेलनसँगै समायाेजनकाे बाँकी काम गर्ने

काठमाण्डाैं । नेकपा (बहुमत) ले आन्दोलनसँगै पार्टी समायोजनका बाँकी काम गर्ने निर्णय गरेकाे छ ।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको आकस्मिक केन्द्रीय कमिटी बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकमा सहभागि केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सहईञ्चार्ज खगराग भट्टका अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो राजनीतिक अवस्थाबारे गरेको ब्रिफिङमा आयोग र अदालतसँगको अपेक्षा सुनाएका थिए ।

उनका अनुसार प्रचण्डले ओलीको दबाबका कारण निर्वाचन आयोगले खुट्टा कमाउन खोजिरहेको र नियम–कानुनअनुसार दृढतापूर्वक सत्यको समूहमा फैसला गर्न नसकिरहेको बताएका थिए । ‘यद्यपि, निर्वाचन आयोगले सही निर्णय गर्दै गर्दैन भन्नेमा अहिले नै नपुगौँ । ओलीले धम्की त दिइरहेका छन्, तर त्यति हुँदाहुँदै पनि आयोग त्यसबाट डराउँदैन होला, कानुनलाई नै मान्छ होला,’ प्रचण्डले बैठकमा राखेको विषय उद्धृत गर्दै भट्टले भने । निर्वाचन आयोगको ढिलासुस्तीले गलत निर्णय गर्न सक्ने देखिएको भन्दै प्रचण्डले भने, ‘आवश्यक परे सबै केन्द्रीय सदस्यहरू सशरीर गएर सनाखत गरौँला । अहिलेलाई हस्ताक्षर र नागरिकताको प्रतिलिपि छोडेर आफ्नो कार्यक्षेत्रमा जानुहोस् । आवश्यक प¥यो भने बोलाउँला ।’

बैठकमा अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीले पूर्वएमालेका नेता–कार्यकर्तालाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गरिरहेको भन्दै सतर्क रहन आग्रह गरेका थिए । ‘ओलीजी हाम्राविरुद्ध बाहिर जथाभावी बोल्दै हिँडिरहेका छन् । ‘साथीहरू यो षड्यन्त्रलाई बुझेर क्रस गर्ने गरी अघि बढ्नुहोस् । केपी ओलीले नै हो सबै छोडेर पूर्वमाओवादीसँग एकता गरेको र जबज छोडेको ।’

नेता नेपालले ओलीसँग आफूले ४८ वर्ष संगत गरे पनि राम्रोसँग चिन्न नसकेको भन्दै कुनै पनि लोभलालचमा परेर संविधान र लोकतन्त्रको विपक्षमा नउभिन नेताहरूलाई आग्रह गरेका थिए । ‘अहिले पनि ओलीजी अनावश्यक ढंगले खेल्न खोजिरहेका छन् । यसबाट सतर्क रहनुपर्छ । मिलेर जाउँ, नेतृत्व युवाहरूलाई नै दिने हो,’ नेपालले बैठकमा भने ।

बैठकमा सहभागी केन्द्रीय सदस्यको नागरिकताको प्रतिलिपि संकलन गरिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । ‘केन्द्रीय सदस्यहरूको हस्ताक्षरसँगै नागरिकता पनि आवश्यक पर्छ कि भनेर संकलन गरेका छौँ । अहिलेसम्मको अवस्था हेर्दा जनताको सहयोग समर्थन राम्रै पाइएको छ,’ भुसालले भने, ‘तर, निर्णय आउनुपर्ने ठाउँबाट आइपुगेको छैन । हामी सम्भावित अवस्थामा कसरी अगाडि बढ्न सकिन्छ भनेर तयारी गरिरहेका छौँ ।’

उनले घोषित आन्दोलनलाई सशक्त, व्यवस्थित र प्रभावकारी बनाएर कसरी लैजाने भन्ने विषयमा बैठकमा छलफल भएको बताए । बैठकले पार्टीको समायोजन हुन बाँकी रहेका प्रदेश, जिल्ला, जनवर्गीय संगठनका पदाधिकारी र केन्द्रीय निकायको समायोजको कामलाई पूरा गरी परिपत्र जारी गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.