विना कारण प्रदेश प्रमुखबाट पदमुक्त गरिएका परियार अदालत जाने
प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरिएका तिलक परियार अदालत जाने भएका छन्। सरकारको निर्णयबाट अचम्ममा परेको भन्दै परियारले आफूलाई यस सम्बन्धमा पूर्वजानकारी पनि नआएको बताएका छन्।
प्रदेश प्रमुखको रुपमा आफ्नो कार्यसम्पादनमा कुनै विवाद नभएको तथा निष्पक्ष र इमान्दारीका साथ आफ्नो काम गर्दै आएपनि गुट उपगुटको राजनीतिमा आशंकाको भरमा पदमुक्त गरिएको परियारले गुनासो गरे। परियारले आशंकाको भरमा पदमुक्त गर्न नमिल्ने र यसका लागि तथ्य र प्रमाण आवश्यक रहेको बताए। उनले पूर्वमाओवादीबाट आफू आएको कारण पदमुक्त गरिएको हो भने त्यो अझै दूर्भाग्यपूर्ण रहेको बताए।
उनले आफूलाई कुनै स्पष्टिकरण दिने अवसरसमेत नदिएको र बिना जानकारी पदमुक्त गरेकोले अदालत जाने बताए। काठमाडौँ फर्केपछि अदालत जाने उनले जानकारी दिए। आफूलाई बिना कारण पदमुक्त गर्नु व्यक्तिगत मात्र नभइ सिङ्गो दलित समुदायमाथिको आक्रमण रहेको उनको ठहर छ।
परियारलाई पदमुक्त गरेर राजेश झालाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गरिएको छ। नयाँ प्रदेश प्रमुखमा नियुक्त भएका झा पेशाले सञ्चारकर्मी हुन्।