प्रतिनिधिसभा विघटनले मुलुक राजनीतिक संकटतर्फ : उपराष्ट्रपति पुन
काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनले मुलुकलाई राजनीतिक संकटतर्फ धकेलेको बताएका छन् ।बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६औं साधारणसभाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसले मुलुकलाई राजनीतिक संकटतर्फ धकेलेको बताएका हुन् ।
प्रतिनिधिसभा विघटनपछि गहिरिदो राजनीतिक संकटबाट जनतामा निराश र आक्रोश छाएको उनले बताए । संविधान कार्यान्वयनको प्रारम्भीक चरणमै प्रतिनिधिसभा भंग हुनु गलत भएको र यसले राजनीतिलाई सही दिशामा नलैजाने तर्क गरे । उपराष्ट्रपति पुनले संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको भन्दै प्रधानमन्त्रीको गलत कदम सच्याउनुपर्ने धारणा राखे ।
तर साेही कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन गरि ताजा जनादेशमा जाने निर्णयलाई जनताले स्वीकार गरिसकेको दावी गरे । उनले चुनावको विकल्प नरहेको भन्दै तोकिएको समयमा निर्वाचन हुने जिकिर गरे । कार्यक्रममा महासंघले विभन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरेकाे छ ।