महेन्द्रनगरबाट पक्राउ परेका व्यक्ति नै भागरथी हत्याका दोषी हुन सक्ने:प्रहरी
धनगढी । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक पुरुषलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । उनी नै दोषी हुन सक्छन् भन्ने केही तथ्यहरू प्राप्त भएको प्रहरीको दाबी छ ।
अनुसन्धानकै क्रममा अहिले केही भन्न नमिल्ने भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने- ‘केही तथ्य हामीले प्राप्त गरेका छौं ।’ स्रोत भन्छ, ‘भागरथीको हत्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट नजिकै रहेको खोचलेक बजारमा रहेको पाइएको छ । जहाँ भागरथी पनि थिइन् । जब भागरथी खोचलेक बजारबाट घरतर्फ लागिन् ती पुरुष पनि त्यहाँबाट निस्किएको पाइएको छ ।’
प्रहरी स्रोतकाअनुसार पक्राउ परेका व्यक्तिको घर नजिकै भागरथीको मोबाइलको ब्याट्री पनि फेला परेको छ । उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट महेन्द्रनगर गएको र त्यहाँबाट भारत जाने तयारीमा रहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।