सुदूरपश्चिममा काेराेना घट्दै, आइतबार पनि कसैमा संक्रमण देखिएन
धनगढी । संसारभर महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरसका संक्रमित सुदूरपश्चिम प्रदेशमा भने घट्दै गएका छन् । माघ महिना सुरु भएयता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ । दैनिक १ सयको हाराहारीमा देखिने संक्रमण दर अहिले घटेर एक दुई जनामा सिमित भएको छ ।
पहिलेको तुलनामा परिक्षणको दर पनि घटेको छ तर पनि परीक्षणको तुलनामा संक्रमण पुष्टि हुनेको संख्या पनि एकदम न्युन नै रहेको प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए । आज आइतबार सुदूरपश्चिम प्रदेशमा ११ जनाको नमूना परीक्षण गरिएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा ११ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशका अन्य प्रयोगशालाहरुमा कोरोना भाइरसको परीक्षण नभएको र हालसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ४९ पुगेको छ ।संक्रमण पुस्टि भएकामध्ये १२ हजार ९ सय ५० जनाले कोरोना जितेका छन् ।