सुदूरपश्चिमका २७ हजार जनालाई काेराेना बिरुद्धकाे खाेप लगाउने तयारी
धनगढी । भारतबाट अनुमदानमा प्राप्त काेराेना बिरुद्धकाे खाेप सुदूरपश्चिम प्रदेशमा के–कति आउन्छ एकिन नभएपनि करीब २७ हजार जनालाई लगाउने गरी तयारी भैइरहेकाे छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले त्यसरी प्राप्त हुने खोप प्राथमिकताक्रममा पहिलो नम्बरमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई लगाइने बताए।
उनले एम्बुलेन्स चालक, शव बाहन चालक, स्वास्थ्य संस्थामै कार्यरत कार्यालय सहयोगी, सरसफाईकर्मीलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिए। अग्रपंक्तीमा खटिने अन्य सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीलाई समेत खोप लगाइनेछ। प्राथमिकताक्रममा परेकाहरुलाई खोप लगाइसकेपछि मात्र अन्यलाई लगाउने काम गरिने छ।
अहिले स्वास्थ्य संस्थाहरुमा मात्र कोरोना विरुद्धको खोप, अभियानका रुपमा सञ्चालन गर्ने तयारी गरिएको कार्कीले बताए।सोहीबमोजिम स्वास्थ्यकर्मीलाई तालिम दिने लगायतका लागि पनि गृहकार्य थालिएको छ।स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले ९ वटै जिल्लाबाट अग्रपंक्तिमा खटिने १४ हजार ६ सय ६६ स्वास्थ्यकर्मी सहित झण्डै २६ हजार ७ सय जनाको तथ्यांक संकलन भएको बताए।
संघीय सरकारले पहिलो चरणमा कुल जनसंख्याको ३ प्रतिशतलाई पुग्नेगरी कोरोना भाइरस विरुद्धको खोप सुदूरपश्चिमका लागि पठाउने अनुमान गरिएको छ। यद्यपी त्यो संख्या नै अन्तिम भने नभएको अधिकारीहरुले बताएका छन। यस्तै संघीय सरकारको निर्देशनबमोजिम खाेप भण्डारण कक्षको व्यवस्थापन गरिएको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त प्रमुख पदमबहादुर बिष्टले बताए।
संघीय सरकारले भारतबाट अनुमदानमा प्राप्त के–कति खोप सुदूरपश्चिमका लागि पठाउँछ? त्यो यकिन भइनसकेपनि पहिलो चरणमा करिब १ लाख भ्याक्सिन पठाउने अनुमान गर्दै सोही अनुसार भण्डारणको व्यवस्था मिलाइएको हो।