Dashain Suvakamana

बैतडीकाे पुरचौंडीमा ४ सय ५४ जनालाई एक सय दिने रोजगारी

बैतडीको पुरचौंडी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा ल्याएको छ। नगरपालिका भित्रबाट सुचिकृत भएका २ हजार १२ जना बेरोजगारमध्ये ४ सय ५४ जनाले एक सय दिने रोजगारी पाएका छन्।

दैनिक पाँच सय १७ रुपैयाका हिसाबले एक सय दिनसम्म रोजगारी दिने लक्ष्यका साथ एक सय ५७ पुरुष र दुई सय ९७ जना महिलालाई रोजगारीका लागि छनौट गरिएको हो। उनिहरुले अबको सय दिनमा दुई करोड ३३ लाख बराबरको काम गर्ने छन्।

छनौट भएका सबैलाई एक दिने अभिमुखिकरण दिएर पाँच गते देखि नगरपालिका भित्रका ३० योजना निर्माण लगाइएको रोजगार संयोजक मीन महराले बताए। ‘केही वडामा काम सुरु भइसकेको छ, बाँकी वडाहरुमा पनि लगत्तै काम सुरु हुनेछ’ महराले भने ‘यो बर्ष १० वटै वडाका घोडेटो बाटो, पिसिसी बाटो, विद्यालय पर्खाल लगायतका योजनाहरुमा काम गराउने लक्ष्य रहेको छ।’

तीन बर्ष अघि संचालनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सुरुको बर्ष २ सय ५८ जनालाई ३० दिनको रोजगार दिइएको थियो । त्यसपछि दोस्रो बर्ष थप ३ सय ८५ जनाले ३० दिन रोजगारी पाएका थिए भने यो बर्ष ४ सय ५४ लाई एक सय दिनको रोजगारीका लागि तयार पारिएको छ।

तीन बर्षमा कुल १ हजार ९७ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गरेको उप मेयर जानकी ऐर बमले बताईन। ‘अहिलेको सरकारले साँझ बिहान हातमुख जोर्नै समस्या भएका ब्यक्तिहरुलाई थोरै भएपनि रोजगारी दिने प्रयास गरेका छ।’ उनले भनिन्।

नगरपालिका प्रमुख रण बहादुर कुवँले पालिकाका १० वटै वडाहरुले छनौट गरेर पठाएका, विपन्न ब्यक्तिहरुलाई रोजगारी दिन लागेको बताए । ‘थुप्रै विपन्न मानिसहरु छन, भारतबाट ठूलो संख्यामा फर्केर बेरोजगार भएका छन् । सबैलाई रोजगारी दिन सकिएको छैन् ।’ उनले भने ‘नगरपालिकाका अन्य कार्यक्रम मार्फत बढी भन्दा बढी जनालाई समेट्दै लगिने छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.