सिंचाइ अभावमा गहुँ सुक्न थालेपछि थाततलो छाडेर भारततर्फ
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ टुडिखेलका कालुराम दमाई निकै चिन्तित छन्। खेतमा लगाएको गहुँ बाली सिंचाइ अभावमा सुक्न लागेको छ। पानी नपर्दा अन्न उब्जाउन नसकिने र त्यसकारण भोकमरी हुने चिन्ताले उनलाई सताइरहेको छ।
‘बोया को गहुँ लगै सुक्दै लाग्यो, पानी पडोइनाइ, भोकमरी हुने होइ गई,’ स्थानीय डोटेली भाषामै दमाईले दुखेसो पोख्दै भने, ‘मौजौ (परिवार)का लागि गहुँ किन्नु पडया होइ गयो, पैसा काँ बटिहै ल्यानु हो।’ दमाई परिवारका लागि गहुँ लगायत अन्नको व्यवस्था गर्न निकै कठिन छ। कपडा सिउने परम्परागत पेशाबाट थोरै मात्र कमाई हुन्छ। खेतमा लगाएको गहुँ पानीको अभावमा सुक्न लागेको छ।
भारतको निकटवर्ती बजार टकनपुरबाट कपडा ल्याएर दमाईले विगतमा घरमै सिलाई गरी गाउँ घरमा बेच्दै आएका थिए। कोरोनाको संक्रमणका कारण भारत जान बन्देज लगाइएपछि सलाई पेसासमेत संकटमा परेको छ। दमाई जस्तै टुँडिखेलमा बसोबास गर्ने २ सय परिवारलाई खेतमा सिंचाइ गर्न पानी अभाव छ। बलौटे जग्गा रहेकाले सिंचाइ नभए अन्न पनि फल्दैन।
आकासको पानीकै भरमै खेतमा लगाइएको बालीले उत्पादन दिन्छ। पानी नपरेको वर्ष गाउँमा भोकमरी नै हुन्छ। पानी नपरेको बेला लगाएको बाली सुक्ने गर्छ। जसका कारण यस क्षेत्रका बासिन्दा मजदुरी गरी साँझ विहानको छाक टार्ने गर्छन्। ‘पानी परेको वर्ष खेतमा लगाएको अन्नले ३ महिनादेखि ६ महिनासम्म खान पुग्छ,’ जसिराम कामीले भने, ‘पानी नपरेको वर्ष हात मुख जोर्नकै लागि निकटवर्ती भारतीय बजारमा गएर मजदुरी गरी आएको रकमले परिवार पाल्ने गरेका छौं, परिवार पाल्न निकै गाह्रो छ।’
टुँडिखेल नजिकै भएर बग्ने महाकाली नदी पारी भारतको उजेलीकोट पर्दछ। त्यहाँ सिंचाइका लागि कुलो बनाइएको छ महाकाली बारीको टुँडिखेलमा सिंचाइको कुनै प्रबन्ध नै छैन। सिंचाइ सुविधा नभएपछि टुँडिखेल, मच्छेट्टी र खल्लाका बासिन्दा घर-जग्गा छाडेर पलायन हुने क्रम समेत बढ्दो छ। टुँडिखेलमा मात्रै दुई वर्षको अवधिमै १३ परिवार भारततर्फ लागेका छन्। धेरै परिवार गाउँ छाडने मनस्थितिमा पुगेका छन। नजिकै भएर बग्ने खैरनी खोलाले दुई दर्जन परिवारलाई विस्थापनमा समेत पारेको छ।
भरपर्दो तटबन्धको व्यवस्था गरि दिनका लागि माग गर्दै आएपनि सुनुवाई हुन नसकेको स्थानीय बासिन्दाहरू बताउँछन्। टुँडिखेलका बासिन्दाले खानेपानीको समेत अभाव झेलिरहेका छन्। महाकाली नदीको पानी पिउन बाध्य छन्।