सुदूरपश्चिमका २२ हजारसँगै देशभरका तीन लाख जनाको एन्टिजेन परीक्षण हुँदै

काठमाडौँ । सरकारले समुदायमा कोरोनाका सक्रिय संक्रमित पत्ता लगाउन देशभरबाट झन्डै तीन लाख जनाको नमुना संकलन गरी निःशुल्क परीक्षण गर्ने भएको छ । सक्रिय संक्रमितको पहिचान नहुँदा थप संक्रमित बढ्न सक्ने प्रक्षेपण भएपछि सरकारले यो नीति अघि सारेको हो ।

सक्रिय संक्रमितको पहिचानमा ढिलाइ हुँदा पछिल्लो समय कोरोनाकै कारण मृत्यु हुनेको संख्या बढेको सरकारको आकलन छ । मृत्युदर घटाउँदै सक्रिय संक्रमितको पहिचान गरी रोग फैलिनबाट जोगाउन एन्टिजेन परीक्षणलाई व्यापक बनाउन लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

स्थानीय तहसँग सहकार्य गरी २ लाख ९४ हजार जनाको स्वाब निकालेर एन्टिजेन विधिबाट परीक्षण गर्ने योजना अनुसार सुदूरपश्चिम प्रदेशका २२ हजार जनाकाे एन्टिजेन परीक्षण गर्न लागिएको हो । यस्तै प्रदेश १ मा २६ हजार, प्रदेश २ मा ४८ हजार, वाग्मती प्रदेशमा ३२ हजार (काठमाडौं उपत्यकाबाहेक), गण्डकी प्रदेशमा ४६ हजार, लुम्बिनी प्रदेशमा ४६ हजार, कर्णाली प्रदेशमा १० हजार जनाको परीक्षण हुनेछ । परीक्षण गर्न आवश्यक किटको समेत व्यवस्थापन भइसकेको जनाइएको छ । 

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.