Dashain Suvakamana

सुदूरपश्चिम खप्तड गोल्डकप पुसमा हुने, विजेताले २१ लाख पाउने

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप’ आगामी पुस २१ गतेदेखि आयोजना हुने भएको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीको आयोजनामा माघ १ गतेसम्म धनगढी रंगशालामा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष योगेन्द्र चन्दका अनुसार प्रतियोगिताको विजेताले २१ लाख एक रुपैयाँ र उपविजेताले ११ लाख एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ।

क्लबका महासचिव प्रकाश शाहीका अनुसार सुदूरपश्चिम प्रदेशमा फुटबल खेलको विकास र विस्तारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। ०७३ सालदेखि खप्तड गोल्डकप आयोजना गर्दै आएको क्लबले यसवर्ष प्रतियोगितालाई थप व्यवस्थित, भव्य र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखेको छ।

प्रतियोगितामार्फत सुदूरपश्चिमका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै युवामा फुटबलप्रतिको आकर्षण बढाउने, खेल पर्यटनको विकास गर्ने र प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने आयोजकको अपेक्षा छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.