धनगढी । कैलालीको गोदावरीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। गोदावरी–४ वनदेवी मन्दिर नजिक अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका हुन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने ३ जनाको अवस्था मध्यम रहेको छ।
अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ८६३३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ९३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका–१ बस्ने ३६ वर्षीय निरज रावत र पछाडि सवार गोदावरी नगरपालिका–६ लालपुर बस्ने ४६ वर्षीय भरत बुढा घाइते भएका छन्। दुवैको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, अटो चालक गोदावरी नगरपालिका–६ लालपुर बस्ने ३८ वर्षीय गणेश आलेको टाउको, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। अटोमा सवार बर्दिया घर भई हाल कैलालीको चुरे गाउँपालिका–५, खानीडाँडास्थित ससुराली घरमा आएका ३१ वर्षीय भीमबहादुर महतरा क्षेत्रीको टाउको तथा शरीरमा चोट लागेको छ। उनीहरू दुवैको अवस्था गम्भीर रहेको छ।
अन्य घाइतेमा भीमबहादुरकी ३० वर्षीया श्रीमती मेनुका महतरा, उनका डेढ वर्षीय छोरा रिदम महतरा तथा कैलालीको चुरे गाउँपालिका–५ बस्ने ४० वर्षीय चन्द्रबहादुर राना रहेका छन्। मेनुकाको टाउको, दाहिने खुट्टा तथा शरीरमा, रिदमको बायाँ आँखा तथा पेटमा र चन्द्रबहादुरको टाउको तथा दाहिने हातमा चोट लागेको छ।
उनीहरू तीनै जनाको अवस्था मध्यम रहेको छ। दुर्घटनाबारे साँझ ७ बजे इलाका प्रहरी कार्यालय मालाखेतीमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिई घाइतेहरूलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको जनाएको छ। अटो र मोटरसाइकल इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेका छन्।
