सुदूरपश्चिम पर्यटनकाे ढाेका खाेल्ने तयारीमा जालपादेवी केबलकार

धनगढी । आइएमई ग्रुपले कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण गरिरहेको जालपादेवी केबलकार तिहारअघि सञ्चालनमा आउने भएको छ । दसैंअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि निर्माणमा केही ढिलाइ भएपछि तिहारअघि सञ्चालनमा ल्याउने गरी काम भइरहेको साे ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

अध्यक्ष ढकालले प्राकृतिक स्रोत तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले केबलकार निर्माण गरिएको बताए । केबलकार सञ्चालनमा आएपछि भारतीय पर्यटकसमेत आकर्षित हुने र यस क्षेत्रको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको उनले बताए ।

कर्णाली नदीको चिसापानी पुलनजिकै रहेको आयोजनास्थलबाट सुरु हुने केबलकार यात्राका क्रममा कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी, कैलाशधामलगायत धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्न सकिनेछ । हात्तीढुंगालगायतका पर्यटकीय स्थलसमेत केबलकारको यात्राका क्रममा देख्न सकिने जनाइएको छ । आइएमई ग्रुपले केबलकारबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ ।

केबलकार सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै रोजगारीका अवसर सिर्जना हुने र स्थानीय बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ । केबलकार निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताका होटल तथा सभाहल निर्माण गर्ने योजना रहेको कम्पनीले जनाएको छ । पर्यटकका लागि होमस्टे र रिसोर्टसमेत सञ्चालनमा ल्याउने तयारी छ ।

आइएमई ग्रुपका अनुसार करिब पाँच अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको केबलकारको लम्बाइ ३ दशमलव १ किलोमिटर छ । केबलकारमा १५ वटा टावर र ३४ वटा गोन्डोला रहनेछन् । चिसापानीदेखि राजकाँडासम्मको यात्रा करिब १० मिनेटमा पूरा हुनेछ । केबलकारले दैनिक करिब ६ हजार यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्नेछ । समुद्री सतहदेखि करिब एक हजार २ सय मिटर उचाइमा रहेको राजकाँडाबाट चिसापानी क्षेत्र तथा तराईका सुन्दर फाँटको दृश्यावलोकन गर्न सकिनेछ । त्यहाँबाट अपी, साइपाल, काञ्जीरोवा, ओम पर्वतलगायत हिमशृंखलाको समेत दृश्यावलोकन गर्न सकिने छ ।

कम्पनीका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको संगमस्थलका रूपमा रहेको चिसापानीमा निर्माण भइरहेको यो केबलकार नेपालकै सबैभन्दा लामो केबलकार हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.