डडेल्धुरा । सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रमुख सडकमार्ग शहीद भिमदत्त राजमार्गको डडेल्धुरा खण्डमा गरिएको कालोपत्रे दुई महिना नबित्दै उप्किएको छ । हरेक वर्ष सडक मर्मतका नाममा करोडौँ रुपियाँ खर्च हुँदै आए पनि मर्मत गरिएको सडक लामो समय नटिक्दा यात्रु तथा सवारी चालकले वर्षौदेखि सास्ती खेप्दै आएका छन् ।
पीच टुटेर सडकभरी खाल्टाखुल्टी भएकाे डोटी, डडेल्धुराको गैरा–साहुखर्क सडकखण्डमा करिब पाँच करोड रुपियाँको लागतमा उच्चकोटी चन्द्र विकास जेभीले प्रिमिक्स प्रविधिबाट गरेको सडक मर्मत दुई महिना नपुग्दै जीर्ण बनेको हो । सडकको विभिन्न स्थानमा कालोपत्रे उप्किएको, सडक भासिएको र ठूला खाल्डाखुल्डी परेका छन् ।
भिमदत्त राजमार्ग सुदूरपश्चिमका पहाडी जिल्लाको जीवनरेखाका रूपमा रहेको छ । डडेल्धुरा हुँदै बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी र अछामलगायत जिल्लासम्मको यातायात यसै मार्गसँग जोडिएको छ । दैनिक ठूलो सङ्ख्यामा सवारीसाधन सञ्चालन हुने राजमार्गमा सडकको गुणस्तरले हजारौँ यात्रुको सुरक्षा र पहाडी जिल्लाको आर्थिक गतिविधिसँग प्रत्यक्ष सम्बन्ध राख्छ । तर सडकको नियमित मर्मतमा बजेट खर्च हुँदै आए पनि त्यसको टिकाउपनामा प्रश्न उठ्दै आएको छ ।
सडक मर्मत सम्पन्न भएको केही महिनामै फेरि मर्मत गर्नुपर्ने अवस्था आउँदा राज्यले एउटै सडकमा पटकपटक लगानी गर्नुपर्ने अवस्था बनेको छ । यसले सार्वजनिक स्रोतको उपयोग र सडक निर्माणको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।सडक डिभिजन कार्यालय कुलपाते, डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले सडक पुनः मर्मतका लागि निर्माण कम्पनीलाई पत्राचार गरिएको बताए । उनले वर्षातका कारण अहिले तत्काल कालोपत्रे गर्न सकिने अवस्था नभएकाेले मौसम अनुकूल भएपछि बिग्रिएको सडक पुनः मर्मत गरिने बताए।