टीकापुर। राजापुर नगरपालिका र गेरुवा गाउँपालिका करिब पाँच हजार किसानहरूले गेरुवा गाउँपालिका–१, जनकनगरस्थित कर्णाली नदी थुनेर खेतमा पानी ल्याएका छन् । असारको पहिलो साता बित्दासम्म पनि पानी नपर्दा रोपाइका लागि स्थानीय स्रोत साधनको प्रयोग गरी श्रमदान गरेर नदी थुनेर पानी ल्याएका हुन् ।
ओखरिया इन्टेकबाट १० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गर्दछ । खडेरीले गर्दा खेतमा पानी नपुगेपछि किसानहरू ट्याक्टरमा झाला पाता र काठ दाउरा लिएर नदीमा पुगेका थिए । इन्टेकनजिक रहेको कर्णालीको भङ्गालो स्थानीय स्रोत साधनले थुनेर ओखरिया इन्टेकतर्फ पानी ल्याएका छन् ।
धान रोप्ने सिजनमा हरेक वर्ष किसानले नदीमा अस्थायी बाँध बाँधेर खेतमा पानी पुर्याउने गरेका छन् । पानीको मुहानदेखि टाढा बुढिकुलाको इन्टेक रहेको हुँदा पानी बुढिकुलासम्म ल्याउन जानुपर्ने बाध्यता रहेको गोला जलउपभोक्ता संस्था अध्यक्ष धनबहादुर शाहीले बताए । अरू स्थानमा स्थायी रूपमा मुहान बने पनि पुरानो सिँचाइ प्रणालीमा स्थायी मुहान नहुँदा हरेक वर्ष जोखिम पुर्ण रूपमा नदीमा पस्नु परेको उनकाे भनाई छ ।