धनगढी । सम्भवत सबैभन्दा पूरानो संवतका रूपमा विक्रम संवत स्थापित छ । त्यही संवतकाे २०८३ सालकाे आज पहिलो दिन ससारभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षाेउल्लासकासाथ मनाइदैछ । नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ ।
विश्वभर रहेका नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा तथा आँगन सफा गर्ने, मठमन्दिरमा गई पूजाआराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गरी सङ्कल्प गर्दछन् ।
सुदूरपश्चिममा सिस्नु लगाएर बिसुपर्व मनाउँदै
सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा सुदूरपश्चिममा बिसुपर्व मनाइन्छ । यस पर्वका दिन शरीरको विष पखाल्न तितेपातीले नुहाउने, सिस्नो लगाउने र बटुक खाने चलन छ ।
बिसुका दिन बिहानै पवित्र कुवा तथा पँधेरामा गएर स्नान गरेर पूजाआजापछि मात्रै भोजनग्रहण गर्ने चलन रहेको छ । यो पर्वमा सेल, पुरी, बटुक, माँणा जस्ता मौलिक परिकार खाएर सिस्नु लगाउने चलन पनि रहेको छ । सिस्नु लगाउँदा शरीरलाई फाइदा हुने परम्परागत मान्यता वैज्ञानिक कारणले समेत फाइदाजनक मानिन्छ ।
सिस्नुको पातमा हुने मसिना झुसमा फर्मिक एसिड र हिस्टामाइन जस्ता रसायनले रक्तसञ्चारमा सुधार, बाथ र जोर्नी दुखाइमा राहत पुग्ने भएकाले परम्परागत उपचार पद्धति पनि मानिन्छ ।