
धनगढी । अछामबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस डोटीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ना. ५ ख २६२ नम्बरको बस आज बिहान करिब ३:५५ बजे डोटीको जोरायल गाउँपालिका–२, बुडरमा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा बाजुराको बुढीगङ्गा गाउँपालिका–७ की ७० वर्षीया गोमा खड्का, बाँकेको जानकी गाउँपालिका–३ की ४६ वर्षीया मनिषा बुढा, अछामको मेल्लेख गाउँपालिका–६ की २५ वर्षीया डम्मरा विक, २३ वर्षीया केशरी विक र २१ वर्षीया सिर्जना भट्ट घाइते भएका छन् । घाइते पाँचै जनालाई उपचारका लागि धनगढी पठाइएको डोटी प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सागर बोहराले जानकारी दिए ।
बस अछामको साँफेबगर नगरपालिका–३ का ३२ वर्षीय आकाश कुँवरले चलाएका थिए । बस आफैँ अनियन्त्रित भई सडकको नालीमा खसेको प्रहरी वरिष्ठ उपरीक्षक बोहराले बताए ।
