गुल्मभित्रै छिरेर सशस्त्र प्रहरीका डीएसपीमाथि हातपातको घटना के हो ?

धनगढी । कैलालीको टीकापुरस्थित खक्रौला नाकामा रहेको सशस्त्र प्रहरी बलको गुल्मभित्रै पसेर स्थानीयको एक समूहले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) माथि हातपात गरेको छ । भारतबाट ल्याइएको सामानको विषयलाई लिएर भएको विवाद उग्र बन्दा आक्रोशित भिडले गुल्म प्रमुखमाथि नै आक्रमण गरेको हो ।

सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, गत जेठ ३ गते सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा ल्याइएका केही सामानहरू बरामद गरेको थियो। रातको समय भएकाले उक्त सामानहरू सोही दिन भन्सार बुझाउन नसकिएपछि गुल्ममै राखिएको थियो । जेठ ४ गते बिहान उक्त सामानका विषयमा छलफल गर्न टीकापुर उद्योग वाणिज्य सङ्घको टोलीसहित स्थानीय व्यापारीहरू खक्रौला सीमा सुरक्षा गुल्म पुगेका थिए। छलफलका क्रममा केही सामानको बिल–बिजक नभएको र ती सामान ’बेवारिसे’ ठहरिएपछि सशस्त्र प्रहरीले भन्सार बुझाउने अडान लिएको थियो ।

छलफल जारी रहँदा गेटबाहिर जम्मा भएका केही युवा र स्थानीयको समूह अचानक गुल्मभित्र प्रवेश गरेको थियो। भिडले गुल्मका प्रमुख डीएसपी प्रदीप पौडेलमाथि ज्यादती गरेको आरोप लगाउँदै हातपात सुरु गरेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा आक्रोशित भिडले सुरक्षाकर्मीमाथि जाइलागेको र हुलहुज्जत गरेको प्रस्ट देखिन्छ । सशस्त्र प्रहरीले सम्झाइबुझाई गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि भिड झन् आक्रामक बनेको थियो ।

आफ्नै कमाण्डर (डीएसपी) माथि हातपात हुँदा पनि स्थिति नियन्त्रणमा लिन नसकेको र सुरक्षा कमजोरी देखाएको भन्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले कडा कदम चालेको छ। डीएसपी पौडेलबाहेक गुल्ममा कार्यरत ३१ जना सशस्त्र प्रहरीलाई तत्कालै जिल्ला तानिएको छ। उनीहरूको ठाउँमा नयाँ टोली खटाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

घटनाको सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरीले टीकापुर वनगाउँस्थित रिजर्भ गणबाट एक एसपीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।‘छानबिन समितिले घटनाको विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ र सोही आधारमा थप कारबाही अगाडि बढ्नेछ।’, सहायक प्रवक्ता थापाले भने ।

यता सुरक्षाकर्मीमाथि अभद्र व्यवहार र आक्रमण गरेको आरोपमा सात जना व्यक्तिहरू विरुद्ध इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिइएको छ। प्रहरीले उनीहरूको खोजी र अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.