डडेल्धुरा । डडेल्धुराकाे सदरमुकामै वडाध्यक्ष मरणासन्न हुने गरी कुटिएका छन् । जिल्लाको अमरगढी नगरपालिका–६ का वडाध्यक्ष केवी ताम्राकारलाई स्थानीयले कुटेकाे हो ।
घटनापछि स्थानीय र वडा अध्यक्ष दुबै पक्षले जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दिएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठले बताए । वडा अध्यक्ष धनगढीमा उपचार गराइरहेको खबर आएकाले दुवै पक्षलाई छलफलमा बोलाउन नसकिएको उनले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरीरहेको उनले बताए ।
उनीमाथि बिहीबार साँझ वडानम्बर ७ को पोखराबाट घर फर्किने क्रममा भजनपुरस्थित वडाकार्यालय नजिकै स्थानीय सन्देश खड्का र उनका बुवा सुरेश खड्काले कुटपिट गरिएको आरोप लागेको हो। तर खड्का पक्षलाई पनि वडा अध्यक्षले गाली तथा कुटपीट गरेको उनीहरुको आरोपसहित निवेदन प्रहरीमा पुगेको छ ।
नगरपालिकाद्वारा कारबाहीको माग
घटनापछि अमरगढी नगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै पीडकलाई कारबाहीको माग गरेको छ। नगर प्रवक्ता तथा वडा नं. १० का वडाध्यक्ष खेमराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नागरिक सेवामा खटिएको वडाध्यक्षमाथि सार्वजनिक सवारी साधनमासमेत तोडफोड गर्दै भएको आक्रमण कानूनी राज्यको उपहास हो।”
नगरपालिकाले यस घटनालाई “गुण्डागर्दी शैलीको आक्रमण” भन्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ।