धनगढी । कैलालीको अत्तरियामा जारी प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्र हुँदै गरेको भेटिएको छ। सुदूरपश्चिम प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट विक्रीका लागि ठेली छपान भएको पाइएको हो।
आयोजकले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरियालाई टिकट विक्रीको जिम्मा दिएको थियो। दुर्गालक्ष्मकी बहुमुखी क्याम्पसका स्ववियु सभापछि भूवन महराले प्रति टिकटमा २ रुपैयाँ स्ववियुले पाउने सम्झौताका साथ काम गरेको बताए। उनले भने, ‘हामीले एक टिकटमा २ रुपैयाँ पाउने हो। रेडक्रसलाई एक रुपैयाँ दिइएको छ।
४ गते म नगरपालिकाको भवन उद्घाटन कार्यक्रममा थिए। यता, आयोजकले टिकट नियन्त्रणमा लिएका रहेछन्। हामीलाई नक्कली हो भन्ने पनि थाहा थिएन। पछि मात्र त्यो कुरा जानकारी पाएका हौ। हामीलाई सबै टिकट आयोजकले दिनु भएको हो। महासचिव शंकर खडकाबाट हामीले टिकट ल्याउछौ। २ ठेली पूरा विक्री भएको छ। अन्यका ६/७ वटा विक्री भएका छन्।’
महोत्सवको आयोजक अत्तरिया उद्योग वाणिज्य संघले छानबिन गर्ने भन्दै स्ववियुलाई पूर्ण जानकारी समेत नदिएको महराको आरोप छ। अत्तरिया उद्योग वाणिज्य संघले नक्कली टिकटको विषयमा छानबिन जारी रहेको बताएको छ। उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा ठेली नियन्त्रणमा लिएको बताए। १३ हजार ६ सयका टिकट विक्री भएपछि आयोजकले ठेली नियन्त्रणमा लिएको हो।
आठौँ संस्करणको महोत्सवमा टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लाई दिइएको थियो। बिहिवार फरक किसिमको टिकटको ठेली भेटिएपछि शुक्रवार र शनिवार भने आयोजकले टिकट विक्री गरेको छ। तर, ति २८ वटा टिकट ठेली कहाँबाट महोत्सवमा भित्रिए भन्ने आयोजकले भनेको छैन।