धनगढी । विभिन्नखाले कर असुल्नेमा आतंक मच्चाइरहेको धनगढी उपमहानगरका कर उठाउने २ जनालाई प्रहरीले अत्तरियाबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया स्थित सब्जी मण्डीबाट सरसफाई/प्रदुषण कर संकलन गर्ने २ कर्मचारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कम्पनीमा कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ का पदम सुनार र सुरज विक रहेका छन । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले तरकारीको ट्रक रोकेर पैसा लिएको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिकासंग सम्झौता गरेर सोनी कन्स्ट्रक्सनका संचालक हरी भट्टराइले भारतबाट आयात हुने माछा, मासुजन्य बस्तु, तरकारी, फलफूल, कोइला, गट्टा तथा प्रदुषण जन्य सामाग्रीमा लाग्ने सरसफाइ करको ठेक्का पाएकाले धनगढीबाटै कर संकलन गर्नुपर्ने भएपनि उक्त तरकारीको ट्रक प्रहरीकै संरक्षणमा धनगढीबाट अत्तरिया गएकाले आफूहरू पनि अत्तरिया पुगेर कर संकलन गर्न खोजेको बताए ।
धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि भारतबाट आयात हुने सरसफाइ तथा प्रदुषण जन्य सामाग्रीको शुल्क संकलन गर्न सोनी कन्स्ट्रक्सन संग ७९ लाख ९९ हजार ९०१ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । जस अनुसार माछा, कुखुरा, खसी, बोका, बंगुर, मासुजन्य समानमा प्रतिकिलो २० रुपैयाँ, तरकारी तथा फलफुलजन्य सामग्रीमा प्रति क्विन्टल १५ रुपैयाँ र कोइला, गट्टा तथा प्रदुषण जन्य सामाग्रीमा प्रति क्विन्टल २० रुपैयाँ सोनी कन्स्ट्रक्सनले कर संकलन गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार आफूहरूले कर संकलन गर्दा पटक पटक प्रहरी संग विवाद हुँदै आएको संचालक भट्टराइले बताए ।