धनगढी। खेतीपातीको काम सकेर यहाँका स्थानीय बासिन्दा फुर्सदिला भएको समयमा खेलिने यो पर्व वीरताको गातामा आधारित छ । यो पर्वलाई विशेष गरी बाजुरा, बझाङ, अछाम र डोटी जिल्लामा विशेष पर्वका रूपमा मनाइने प्रचलन पुस्तौँदेखि अहिलेसम्म रहँदै आएको छ ।
पुस महिनाको चतुर्दशी अर्थात् औँसीको अघिल्लो रातबाट काठको मुढो बालेर सुरु गरिने यो भुवो पर्वलाई अहिलेका युवापुस्ताले पनि दौरा सुरुवालको पोसाकमा ढाल, तरबार तथा लाठी खेलाएर नाच्ने प्रचलन छ । त्रेतायुगमा पाण्डव कौरवबिचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसीयाली मनाइएको दिनमा यो पर्व मनाइने किम्बदन्ती छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ । पहाडी जिल्लाबाट तराई झरेका बाजुरेली, बझाङ्गीहरूले यहाँ पनि भुवा पर्व मनाउने गरेका छन् ।
भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले यहाँ पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।