टीकापुर। टीकापुर नगरपालिकाले सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बिमा गरिदिने गरेको छ । पालिकाले गत वर्ष ४६ परिवारको बिमा गरिदिएको थियो । पालिकाले कार्यविधि बनाएर बिमा सुविधा दिने गरेको हो ।
गत वर्ष ४६ परिवारको स्वास्थ्य बिमा गरिदिएको थियो । जसमा दुई लाख पालिकाको खर्च भएको थियो । प्रतिपरिवार पाँच जनाका लागि बिमा शुल्क तीन हजार पाँच सय तिर्नुपर्छ । यति रकम बराबर उपचार गर्दा एक लाखसम्मको सेवा निः शुल्क पाइन्छ । यो कार्यक्रमले बिमामा आबद्ध परिवारलाई उपचारमा सहजता भएकाले खुसी भएका जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावलले बताए। “गत वर्ष बिमामा आबद्ध भएका धेरै परिवारले टीकापुर अस्पताल र यहाँबाट रेफर भएर पनि सेवा लिनुभएको छ”, रावल भने, “पालिकाले आर्थिक सहायता गर्नुभन्दा बिमा गरिदिएमा परिवारले नै राहत पाउँछ ।”
बिमा कार्यक्रमबाट धेरै परिवारले उपचारमा सुविधा भएको बताएका छन् । बेपत्ता परिवारका सदस्य दुर्गाकुमारी जैसी रिमालले नगरपालिकाले बिमा गरिदिएपछि गत वर्ष ५० हजार बढीको स्वास्थ्य उपचार सेवा लिनएको बताए । उनले भनिन्, “गत वर्ष मैले बिमा सुविधाबाट टीकापुर अस्पताल, नेपालगन्ज र काठमाडौँको वीर अस्पतालमा उपचार सुविधा लिएँ ।” स्थानीय पालिकाले सानो सहयोगबाट बिमा गरिदिएर आफूहरूलाई ठुलो सहयोग मिलेको दुर्गाकुमारीको भनाई थियो।
पालिकाले गत वर्षदेखि विभिन्न आन्दोलनमा सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बिमा गरिदिने गरेको हो । स्वास्थ्य बिमामार्फत उपचार सहजताका लागि पालिकाले बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सघाउन आवश्यक रहेको स्थानीय बताउँछन्।