धनगढी–पोखरा हवाई उडान गर्न माग

धनगढी। धनगढी–पोखरा र सुदुरपश्चिम क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पुनः सिधा हवाई सेवा सञ्चालन गर्नुपर्ने व्यावसायीहरूले माग गरेका छन्।पोखराबाट सुरु भएको जाउँ है पोखरा अभियानअन्तर्गत सोमबार पोखरा र धनगढीका पर्यटन व्यवसायीसहित विभिन्न संघ संस्थाका प्रतिनिधिबिच भएको छलफलमा सहभागीहरूले सो कुरा बताएका हुन्।

सुदूरपश्चिमबाट भारतीयसहितका अन्य पर्यटकलाई लक्षित गरी धनगढी–पोखरा सिधा हवाई उडान पुनः नियमित सञ्चालन गर्न सके दुवैतर्फ पर्यटक भित्र्याउन सकिने व्यवसायीहरूले बताएका छन्। केही समयअघि धनगढी–पोखरा बुद्ध एयरलाइन्सले सिधा हवाइ उडान सुरु गरे पनि कोभिडपछि उक्त सेवा हाल स्थगित भएकोले पोखरा धनगढीको पर्यटन प्रवर्द्धन प्रभावित भएको व्यवसायीहरूको गुनासो छ।

हवाई सेवा भएमा भारतको सीमावर्ती क्षेत्र उत्तराखण्डलगायतका क्षेत्रबाट आउने पर्यटकलाई सुदूरपश्चिम क्षेत्रको पर्यटकीय गन्तव्यमा एक दिनको बसाइपश्चात दुई दिनको बसाइ पोखरामा राख्न सकिने प्रवल सम्भावना रहेको पर्यटन व्यवसायी मायाप्रकाश भट्टले बताए। नाट्टा सुदूरपश्चिमाञ्चल प्रदेश संघका अध्यक्ष शिवहरि पाण्डेले कोभिडपछि पर्यटन व्यवसायी पलायन हुने अवस्थाबाट अहिले लयमा फर्केको बताए।

यस्तै, होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेले पोखराका व्यवसायीले चलाएको अभियान आफूहरूका लागि प्रेरणा भएको बताए। होटल संघ पोखराका सचिव पार्वती पाण्डेले शुक्रबारबाट सुरु भएको जाउँ है पोखरा अभियान विभिन्न कार्यक्रमसहित, लुम्बिनी, नेपालगन्ज, धनगढी हुँदै महेन्द्रनगरसम्म पुग्ने बताइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.