बझाङ । विद्यालयमा विद्यार्थीले के लैजान्छन् ? जवाफ हुन्छ, किताब, कापी, कलम र खानेकुरा । तर, बझाङका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी किताब, कापी र कलमका अलावा किराना पसलबाट काम नलाग्ने भनेर फालिएका फोहोर पनि बोकेर जान्छन् । यो जवाफ सुन्दा जो कोही पनि अचम्मित हुन्छन् । तर, सत्य यही नै हो ।
बझाङको थलारा गाउँपालिकामा रहेका यस्ता धेरै विद्यालय छन्, जसले गाउँगाउँमा रहेका विभिन्न पसलबाट निस्किएका फोहोर आफूले लिने गर्छन् । यस्तै, फोहोर लिने एउटा विद्यालय हो, थलारा गाउँपालिका–३ गडीगाउँस्थित धौलदेउ आभारभूत विद्यालय । गाउँमा फ्याँकिएका चाउचाउ, विस्कुटका काटुन तथा खोस्टा, बिडी चुरोटका खाली बट्टा, तास, मकैका खोया, विभिन्न काठका ससाना छेस्का, मादक पदार्थ तथा पेय पदार्थका रित्ता बोतल, प्लास्टिकका बोतल आदि सबै विद्यालयले लिने गरेको छ ।
फालिएका यी सामानबाट यहाँका शिक्षक शिक्षिकाले रंगरोगन गरेर शैक्षिक सामग्री निर्माण गर्ने गरेका छन् । यिनै शैक्षिक सामग्री प्रयोग गरेर बालबालिकालाई अध्यापन गराउने गरिएको छ । यूएमएनको आर्थिक सहयोगमा प्रगतिशील युवा समाजको सहकार्य तथा थलारा गाउँपालिकाको समन्वयात्मक क्रियाकलापमा आधारित सिकाइ परियोजना लागू भएपछि यस विद्यालयका शिक्षकले फोहोरमार्फत शैक्षिक सामग्री निर्माण गरेर विद्यार्थीलाई अध्यापन गराउन सुरु गरेका छन् ।
यस परियोजनाले शैक्षिक सामग्री निर्माण गर्ने तालिम दिएपछि आफूहरूलाई सहज भएको यस विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिका ललिता बोहराले बताइन् । सुरुमा गाउँमा भएको फोहोर विद्यालयमा ल्याउँदा गाउँलेहरूले नै आफूहरूलाई गिज्याउने गरेको उनको अनुभव छ । ‘मलाई फोहोर टिप्ने मेडम, फोहोरले विद्यालय भर्न थालिन्, यसले केटाकेटीलाई के शिक्षा देलिन् ? नानाथरी भन्दै अभिभावकले नै कुरा काट्न सुरु गरेका थिए।’
उनले भनिन्, ‘जब मैले त्यसै फोहोरबाट विभिन्न शैक्षिक सामग्री निर्माण गरी केटाकेटीलाई पढाउन सुरु गरें, त्यसपछि ती शैक्षिक सामग्री देख्ने अभिभावक जिल्ल परे । पहिला गाउँमा भएका फोहोर आफैंले टिपेर ल्याउनुपथ्र्यो । तर, अहिले उनीहरूले नै ससाना आफ्ना छोराछोरीको हातमा नै फोहोर संकलन गरेर पठाउने गरेका छन् ।’
अहिले आफूहरूलाई शैक्षिक सामग्री निर्माण गर्न निकै सहज भएको उनले बताइन् । ‘अहिले शैक्षिक सामग्री निर्माण गर्न अभिभावक र विद्यार्थीको पनि सहयोग मिलेको छ,’ उनले भनिन् । राजधानी दैनिकबाट