धनगढी । कैलाली–डडेलधुरा सडकखण्डको बुढीताेलामा पहिरोले भत्किएको सडकको ट्याक खोल्ने काम पूरा भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार साउन २२ गते राति आएको अविरल वर्षाका कारण आएको पहिरोले भत्किएको करिब चार सय मिटर सडकको ट्याक खोल्ने काम पूरा भएको हो ।
पहिरोले बुढीतोलास्थित बाख्रा फार्मभन्दा करिब तीन सय मिटर दक्षिण अत्तरियातर्फ भावर भन्ने ठाउँको पहिरो सडक बगाएको थियो । सो क्षेत्रमा सडकको ट्रयाक खोल्ने काम सकिएको भए पनि सवारी साधन भने चल्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘‘हामीले ट्याक खोलेको सडकमाथि पानीको मूल रहेकाले सडक सुख्खा हुन पाएको छैन, पहिरो पछि सडकको माटो नै गिलो भएको छ । जमेको पानी निकाल्ने काम भए पनि हिलो भएकाले त्यो सुक्न केही दिन लाग्छ ।’’
ट्रयाक खोलेको सडकमा मानिस हिँड्न सक्ने अवस्था पनि नभएको पनि उनले बताए । सडकमा ग्राभेल हाले पनि माटोमा पानीको मात्रा धेरै भएकाले माटोमै मिलेर हराउने गरेको पनि इन्जिनियर चटौतले बताए । उनका अनुसार पानी परे अझै पहिरो जाने सम्भावना छ । तर पानी परेन भने दुई दिनमा यातायातका साधन सञ्चालन हुने अनुमान गरिएको छ ।
सो सडक भत्किदा तराईका कैलाली, कञ्चनपुर जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ ।