चाँडै धनी बन्ने माेहले ठगिदै

धनगढी । देशभित्र मात्रै नभएर परदेश गएर भएपनि मनग्य पैसा कमाउने र चाँडै धनी बन्ने माेहले आजकल ठगीका घटना दिनप्रति दिन बढ्दै गएका छन् । जानुपर्ने ठाउँ गर्नुपर्ने काम र अपनाउनुपर्ने प्रकृर्याबारेमा केही नसाेची छाेटाे समयमै धेरै पैसा कमाउने बहकाउमै धेरैजसाे गैरकानुनी कदम उठाउन तयार हुँदा आफै ठगिएका छन् ।

यस्तैमा साइप्रसकाे प्रतिष्ठित कम्पनीमा कम्तीमा एक लाख रुपियाँ पाउने प्रलोभन देखाएर राजन गिरीले पीडित राजकुमार (नाम परिवर्तन) सँग दुई लाख रुपियाँ लिएर सम्पर्कबिहीन बने । सिन्धुली सुनकोशी–३ का गिरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार  काठमाडौँबाट पक्राउ ग-यो । गैरकानुनी बाटोबाटै साइप्रस पुग्ने सपना बोकेका राजकुमारलाई साइप्रस जान के के आवश्यक कागजपत्र चाहिन्छ भन्नेसम्म पत्तो छैन । 

यति मात्र होइन साइप्रस, क्रोएसिया र पोल्यान्डमा मासिक दुई लाख रुपियाँभन्दा बढी आम्दानी हुने काममा लगाइदिने प्रभोलनमा परी तीन जना युवासँग जनही छदेखि आठ लाख रुपियाँसम्म असुल गरियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो घटनामा संलग्न सुनसरी बराहक्षेत्र–७ का मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी–५ का अनन्त प्रकाश श्रेष्ठ र उदयपुर ताप्ली–४ का प्रचलन राईलाई यही साउन ११ गते नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीले श्रेष्ठलाई काठमाडौँ जोरपाटीबाट, मग्रातीलाई काँडाघारीबाट र राईलाई ललितपुरको नखिपोटबाट नियन्त्रणमा लिएको हो।

अर्को घटनामा माल्टामा मासिक दुई लाख रुपियाँको जागिर लगाइदिने प्रलोभन देखाएर पीडितसँग नौ लाख रकम ठगी गरी फरार रहेका मुगु छायानाथ रारा–३ का प्रवीन खड्का गत जेठ २८ गते कुलेश्वरबाट पक्राउ परे। सोही दिन उदयपुर चौदण्डीगढी–७, बेलटारकी सुनिता न्यौपाने श्रेष्ठलाई प्रहरीले पुल्चोकबाट पक्राउ ग-यो। अमेरिका पठाएर मोबाइल सफ्टवेयर कम्पनीमा मासिक तीन लाख रुपियाँ आम्दानी हुने जागिर लगाइदिने प्रलोभन देखाएर सुनिताले पीडितसँग छ लाख २१ हजार रुपियाँ ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यी केही प्रतिनिधि घटना मात्र हुन्। वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने घटना पछिल्लो समय बढेका छन्। काठमाडौँ उपत्यकामा मात्र एक वर्षमा वैदेशिक रोजगारीका नाममा ठगी गर्ने २२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी ८१ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा ६४ पुरुष र १६ जना महिला छन्। अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका ८१ जनाविरुद्ध २२ करोड २२ लाख ८७ हजार बिगो माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.