साउन महिनाको महत्व हिन्दू आख्यानहरुका अनुसार समुन्द्र मन्थन गर्दा कालकुट विष निस्कियो। र, त्यो कालकूट विष शिवजीले सेवन गरेर देवता र राक्षस गणको रक्षा गरेका थिए। तर, कालकूट विष सेवन गर्दा शिवजीको गलामा पुगेपछि पार्वतीले सो विष घाँटी भन्दा तल जानबाट रोकेका थिए।
जसले गर्दा घाँटी निलो हुन थाल्यो, बिषको असरले शिवजीलाई जलन हुन थाल्यो। मृत्युबाट त जोगाए पार्वतीले तर शिवजीलाई जलन असह्य हुँदै गयो। यो देखेर पार्वतीले शिवजीलाई जलसेचन गरेर जलन शान्त गराएका थिए। पार्वतीले जल चढाए पछि अन्य देवतागणले पनि शिवजीलाई जल चढाएर विषको असरले भएको जलन शान्त गराए। यसरी शिवजीलाई साउन महिनामा जल अभिषेक गर्ने परम्पराको सुरुवात भएको भन्ने मान्यता छ।
शिवजीले कालकूट विष पिएर अरुको त जीवन बचाए तर आफ्नो शरिरमा असह्य जलन हुँदै गयो। मृत्यु र जीवनको दोसाँधमा रहेका शिवजीका जीवन रक्षाका लागि पार्वतीले यहीँ साउन महिनाको पहिलोबाट सोमवारे व्रत बसे । यसरी कालकूट विषका असरबाट शिवजीको जीवन रक्षाका लागि पार्वतीले व्रतारम्भ गरेको साउको सोमवारे व्रत विस्तारै सबैले बस्न थालेको भन्ने मान्यता रहेको छ।
पार्वतीले शिवजीको प्राण रक्षाका लागि व्रत बस्दा कुनै बिशेष पहिरन वा हात भरी चुरा लगाएको भन्ने भेटिदैन। तर, धेरैपछि महिलाहरू साउन महिना हरियालीको महिना भएको हुँदा हरियो कपडा र हरियो सारीलाई महत्व दिन थालेको देखिन्छ।लुतो फाल्न अर्थात असारे रोपाइमा खेतमा लडिबुडी खेलेपछि छालामा लाग्ने रोग निर्मुल पार्न जडिबुटीयुक्त घाँस जलाएर त्यसको राप तापिन्थ्याे जसले गर्दा छालामा लागेका लुतो तथा घाउखटिरा निको हुने विश्वास गरिन्थ्यो। तर, अचेल समय बदलिसकेको छ।
साउन महिना हरियालीको महिना भन्दै महिलाहरु हरियो सारी, मेहन्दी र हरियो चुरा लगाउन्छन भने पुरुषहरु पहेलाे लुगा लगाएर बाेल बम गाउँदै हिड्छन् ।