
धनगढी। बर्षभर सुस्त रहेर असारमा खर्च देखाउने परिपाटी यसपालि पुन: दाेहिरएकाे छ । सुदूरपश्चिम प्रदेश सरकारले जेठ असारमा मात्रै दाेब्बर बजेट खर्च गरेकाे देखिन्छ । उसले कुल बजेटको ६८.८४ प्रतिशत बजेट खर्च गरेको जनाएकाे छ।
यसअघि बैसाखमा पुग नपुग ३६ प्रतिसत मात्र खर्च भएकाे जनाएकाे थियाे । हुन त आर्थिक वर्ष २०७८–७९ मा सरकारको बजेट खर्च प्रगति ६६.६१ प्रतिशत रहेकोे थियो । चालु आर्थिक वर्षमा पुँजीगततर्फ २२ अर्ब ८४ करोड ५७ लाख ६९ हजार रुपियाँ बजेट विनियोजन भएकोमा असार २५ गतेसम्म १५ अर्ब ८१ करोड ३७ लाख ६२ हजार (६९.२२ प्रतिशत) खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार चालुतर्फ आठ अर्ब ३३ करोड ६४ लाख २३ हजार (६८.१४ प्रतिशत) बजेट खर्च भएको छ । चालुतर्फ कुल १२ अर्ब २३ करोड ४९ लाख ८७ हजार रुपियाँ बजेट छुट्टयाइएको थियो । यस हिसावले सुदूरपश्चिम प्रदेश सरकारको १० अर्ब ९३ करोड पाँच लाख रुपियाँ बजेट खर्च हुन सकेन ।
प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९–८० का लागि कुल ३५ अर्ब आठ करोड सात लाख ५६ हजार रुपियाँमध्ये २४ अर्ब १५ करोड एक लाख ८५ हजार रुपियाँ बजेट खर्च गरिएको छ ।
