नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जाँदै

धनगढी। सङ्घीयमा सत्तारूढ गठबन्धन दल नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ। सो पार्टीलाई सरकारमा सहभागी गराउन प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीवीच छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, नागरिक पार्टीका प्रवक्ता दामोदर पण्डितको पनि उपस्थिति रहेको थियो। नागरिक पार्टी प्रदेश सरकारमा जाने निश्चित भएको सो पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले बताए। अब भने नागरिक पार्टी सरकारमा जाने कुरा पार्टीका संरक्षक चौधरीले पनि सार्वजनिक गरेका छन्। उनले एक साताभित्रै सुदूरपश्चिम प्रदेश सरकारमा जाने कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन्। 

नागरिक पार्टीले दुई मन्त्रीसहित राज्यमन्त्री, दुई समितिका सभापति पाउनु पर्ने माग राखेको छ। प्रदेश सभामा चौथो ठुलो दल नागरिक पार्टीबाट लक्ष्मणकिशोर चौधरी र रामेश्वर चौधरी मन्त्री बन्ने लाइनमा छन्। दुवै जनालाई मन्त्री बनाउने पार्टीको निर्णय रहेको बताइएकाे छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.