सुदूरपश्चिममा आज भारी वर्षा हुनसक्ने, सतर्कता अपनाउन आग्रह

धनगढी । देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर सामान्य बदली रहेर बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार आज बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा आसपास भई बहने ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहेको छ। महाकाली नदी र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र सतर्कता तह पुग्न सक्ने आकलन पनि महाशाखाको छ। देशका अन्य प्रमुख तथा मझौला नदीहरूमा भने जलसतह सामान्य रहने महाशाखाले जानकारी दिएको छ।

त्यस्तै रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालिकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा, सिन्धुपाल्चोक र आसपास भइ बहने केही ससाना नदीहरूमा आकस्मिक बहाबको जोखिम छ। रामेछाप, धादिङ, नुवाकोट, मकवानपुर, दैलेख, जाजरकोट र आसपास भइ बहने केही ससाना नदीहरूमा बहाब बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ।

सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने भन्दै ससाना नदीहरूमा पानीको बहाब बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.