
नेदरल्यान्ड्ससँग एकतर्फी खेलमा पराजय भोगेपछि नेपालको विश्वकप क्रिकेट पुग्ने झिनो सम्भावना पनि टुंगिएको छ । जिम्बावेमा भइरहेको आईसीसी विश्वकप छनोट क्रिकेटमा शनिबार नेदरल्यान्ड्सले नेपाललाई ७ विकेटले हरायो ।
बलरमैत्री विकेटमा नेदरल्यान्ड्सले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेपाल शर्ट बलसामु निरीह बनेपछि ४४.३ ओभरमा १ सय ६७ रनमै अलआउट भयो । हरारेस्थित ताकसिंगा स्पोर्ट्स क्लबमा म्याक्स ओ’डाउडले ९० रन बनाएपछि नेदरल्यान्ड्सले २८ ओभरभित्रै लक्ष्य पूरा गर्यो ।
समूह चरणका सबै चार खेल खेलेको नेपालको यो तेस्रो हार हो । यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँगको खेलमा पराजय भोगेको थियो । नेपालले अमेरिकालाई मात्र पराजित गर्न सक्यो । समूह ‘ए’ बाट जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् ।
जिम्बावेले पहिलो तीन खेल नै जितेको छ भने वेस्ट इन्डिज र नेदरल्यान्ड्सले ३ मध्ये २ खेलमा जित हात पारेका छन् । अमेरिका सुरुका तीन खेल हारेर सुपर लिगको दौडबाट बाहिरिइसकेको छ ।
