धनगढी । सधैं फाेहर फाल्ने ठाउँमा ठूलाे परिणाममा हजार हजारका नयाँ नाेट भेटिएपछि सर्लाहीको लालबन्दीका स्थानीय बासिन्दा चकित भएका छन् । मंगलवार बिहान लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा ती नोट भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्ताराम कार्कीले एक हजारका ५३० वटा नोट बरामद भएको जानकारी दिदै भने- ‘ती सबै नक्कली नाेट हुन् ।’ ती नक्कली नोटसँगै एक हजार दरको नोट आकारकै पाँच सय भन्दा बढी ‘फोटोकपी पेपर’ समेत बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
नक्कली नोट बनाउने कार्यमा संलग्न व्यक्तिले बजारमा ती नोट प्रयोग गर्न नसकेपछि फोहोर फाल्ने ठाउँमा ल्याएर फालेको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले नक्कली नोट बनाएर फाल्ने व्यक्ति पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ ।