६ महिनादेखि तलब नपाएपछि कैलालीमा स्वास्थ्य कर्मचारी आन्दोलित

धनगढी ।  छ महिनादेखि तलब नपाएपछि कैलालीमा कार्यरत स्वास्थ्य कर्मचारी आन्दोलित भएका छन् । समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीकाे तलब भत्तामा समस्या उत्पन्न भएपछि कर्मचारी व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बेवास्ताका कारण स्वास्थ्य कर्मचारीहरु आन्दाेलनमा उत्रेका हुन् । 

तीन महिना अघिदेखि नै कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दै स्थानीय तहले धमाधम फिर्ता पठाएपछि त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारी खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत दिइने उल्लेख थियो। तर कर्मचारीले ६ महिनादेखि तलब पाउन सकिरहेका छैनन्। मन्त्रीस्तरले गरेको निर्णय कार्यान्वयन नहुँदा अहिले कैलालीमा ८ पालिकाका स्वास्थ्य सेवाका कर्मचारी आन्दोलित छन्।

तलब सुविधा नपाएकै कारण कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा बाहेक सबै सेवा बन्द छ। स्वास्थ्य तर्फको २२ जना स्थायी कर्मचारीहरुले कात्तिक महिनादेखि हालसम्म तलब नपाएपछि त्यहाँ कार्यरत कर्मचारीहरु आन्दोलित भएका हुन्। विगत ६ महिनादेखि तलब भत्ता नपाएको भन्दै यता धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यतर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक धनगढी उपमहानगरपालिका प्रशासन शाखामा हाजिर गर्ने र नगरपालिकाको प्रांगणमा कालोपट्टि बाँधेर धर्ना दिने दबाबमुलक कार्यक्रम अघि बढाएका छन्।

माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रम धनगढीका स्वास्थ्यकर्मीहरुले अघि बढाएका छन्। धनगढी उपमहानगर र जोशीपुर गाउँपालिकामात्र नभई कैलालीको टीकापुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले एक महिनादेखि, भजनी र गौरिगंगा नगरपालिकाका स्वास्थ्यकर्मीहरुले पुसमहिनादेखि तथा कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले माघदेखिको तलबभत्ता पाउन सकेका छैनन्।

स्वास्थ्य क्षेत्रको समस्यालाई यथासिघ्र व्यवस्थापनका लागि संघिय सरकारलाई दबाब दिईरहेको उपमहानगरपालिकाले जनाएको छ। संघीय सरकारले स्वास्थ्य सेवाका कर्मचारीलाई दिन्छौँ भनेको तलब त दिनु प¥यो नि। संघीय सरकारको सशर्त अनुदानबाट तलब उपलब्ध गराउँछौँ भन्ने अनि आधा वर्षसम्म तलब नै नदिएपछि स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी समस्यामा परेको उपमहानगरले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.