अगामी फागुन १ गते (सोमबार) मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ । मधेस सरकारले दोस्रो पटक जनयुद्ध दिवस मनाउन लागेको हो ।
दिवसको अवसरमा प्रदेशमा मधेस सहिद प्रतिष्ठानको आयोजनामा विशेष कार्यक्रम गर्न लागिएको छ । सोही कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्द बहादुर पुनः जनकपुर आउने तय भएको गृह तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंहले जानकारी दिए । उनी मधेस भवनमा आयोजित जनयुद्ध दिवसमा सहिद परिवारलाई सम्मान एवं राहत वितरण कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
यसैबीच जनयुद्धको क्रममा मधेस प्रदेशमा शहादत प्राप्त गरेका ५ सय ४० जना शहीद परिवारलाई एक/एक लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गृह तथा सञ्चार मन्त्रालयले गरेको छ । गत वर्ष फागुन १ गते पनि मधेस सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियो भने माओवादीको दश वर्षे जनयुद्धमा शहीद, बेपत्ता भएका परिवार र घाइतेलाई एक/एक लाख रुपैयाँ वितरण गरेको थियो ।