धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनसँग भावी प्रधानमन्त्री बन्ने मान्छे नै नभएको दाबी गरेका छन् । अगामी निर्वाचनबाट बन्ने सरकारको नेतृत्व कसले हाक्छ ? गठबन्धनसँग विश्वासीलाे नेता नभएकाेले गठबन्धनले हाम्रो प्रधानमन्त्री फलानो हुन् भनेर भन्न नसकेको दाबी गरे ।
सुदूरपश्चिमकाे डाेटी र कैलालीकाे चुनावी सभालाई सम्बाेधन गर्दै भने ‘गठबन्धन की ठगबन्धनको अगामी कार्यक्रम के हो ? सरकार कसले हाक्छ ? नेता को हो ? एमालेले जस्तै गठबन्धनले फलानो हाम्रो प्रधानमन्त्री हो भनेर किन भन्न सक्दैन,’ ओलीले भने, ‘किनकी उनीहरुलाई सरकार बनाउँछौँ भन्ने विश्वाव नै छैन । सरकार बनाउँदा पनि कुन पार्टीको कार्यक्रम लागु गर्ने त्यो छैन। त्यसैले यो गठबन्धनलाई विदा गरौँ ।’
अहिले गठबन्धनका नेताहरुले आफू आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जनतालाई ढाट्ने काम गरिरहेको बताएका ओलीले फरक फरक पार्टीका घोषणा पत्र लागु हुने सम्भावना नै नरहेको दाबी गरे । एमालेलाई देख्दा गठबन्धनको सात्तो जाने गरेको जिकिर ओलीको थियो।
ओलीले कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्ने बताउदै बहुमत ल्याउन कठिन भएको र एमालेले नै बहुमत ल्याउन दाबी गरेका छन् । एमाले अध्यक्ष ओलीले एमाले सिद्धाउँछु भन्नेहरु आफै सिद्धिँदै गएको बताए। उनले भने, ‘एमाले सिध्याउँछु भन्नेहरु आफैं सिद्धिँदै गएका छन्। माधव नेपाल, प्रचण्ड लगायतका मान्छेहरु क्रमश सिद्धिँदै गएका छन्। माधव नेपाल त यही चुनावबाटै समाप्तै हुन्छन्। माधव नेपालको पार्टी खरानीको डल्लो हो।’
अध्यक्ष ओलीले नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरेका हुन्। उनले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने फेरि दाबी गरेका छन्। यस्तै ओलीले माओवादी केन्द्र पनि भविष्यमा समाप्त हुने बताए। २०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादी केन्द्रले ५४ सिट जितेको भन्दै ओलीले अहिले चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो हुने बताए। ‘एमालेसँग तालमेल गर्दा ५४ सिट पाएको थियो, अहिले चोकटा खान गएको झोलमा डुबेको जस्तो भएको छ, ४४ कि ४५ सिट पाएको छ, आधा पनि जित्दैन’ ओलीले भने।