धनगढी। कैलालीका उद्योगी, व्यवसायीले चर्को ब्याजदरविरुद्ध प्रदर्शन गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरूले अस्वभाविक चर्को ब्याजदर बढाएको भन्दै कैलालीका उद्योगी, व्यवसायीहरुले प्रदर्शन गरेका हुन्। बुधबार उनीहरुले धनगढीको ट्राफिक चौराहदेखि नेपाल राष्ट्र बैँक धनगढीसम्म मौन प्रदर्शन गरेका छन्।
कैलाली उद्योग वाणिज्य संघको आयोजनमा बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले व्यवसाय सञ्चालन गर्न समस्या भएको भन्दै विरोधसहित ब्याजदर घटाउन माग गरेका हुन्। अध्यक्ष पुष्पराज कुँवरले नेपाल राष्ट्र बैंकको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा गरिएको व्यवस्था र कर्जाको ब्याजदरमा भएको अस्वभाविक वृद्धिले उद्योग व्यवसायी नै धरासायी हुने भन्दै विरोधमा उत्रिनु परेको बताए।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रभाह गर्दा उद्योगी व्यवसायीप्रति मर्यादित व्यवहार गर्नुपर्ने, कर्जाको ब्याजदरमा एकल अंक कायम गर्नुपर्ने, विगतको चालु पूँजी कर्जा निर्देशिका यथावत राखेर क्रमिक रुपमा लागू गर्नुपर्ने, मौद्रिक नीतिमा भएका छुटलाई कार्यन्वयन गर्नुपर्ने लगायतका माग राखेका छन्।
बैङ्क तथा बित्तियसंस्थाबाट निरन्तर बढीरहेको उच्च ब्याजदर, ताकेता र मानमर्दनले निजी क्षेत्र पीडित बनेको भन्दै मङ्गलवार उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाइएको थियो। नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदरप्रति देशैभरी विरोध जनाइरहेको छ।