निर्वाचन लगत्तै जग्गाधनी पुर्जा वितरण गरिने

धनगढी । राष्ट्रिय भूमि आयोग, कैलालीले निर्वाचन लगत्तै लालापुर्जा वितरण गर्ने भएकाे छ । निर्वाचन आयोगको निर्देशनपछि कैलालीमा जग्गा नापचाँचको काम रोकिएको छ। जिल्लामा झण्डै ७ हजार भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरिएका बेला आयोगले काम बन्द गर्न निर्देशन दिएको भूमि आयोग कैलालीले जनाएको छ।

जिल्लाका ५ वटा पालिकामा जग्गा नापजाँचको काम भएको छ। धनगढी उपमहानगरपालिकाका १९ वडा, कैलारी गाउँपालिकाका २, भजनी नगरपालिकाका २, लम्कीचुहा नगरपालिकाका ७ तथा गोदावरी नगरपालिकाका २ वटा वडामा जग्गा नापजाँचको काम पुरा भएको भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताए। ‘निर्वाचनपछि मात्र लालपुर्जा वितरणसँगै बाँकी प्रक्रिया सुरु गरिनेछ, अहिले निर्वाचन आयोगले नै काम रोक्न निर्देशन जारी गरेपछि नापजाँचको काम रोकिएको हो,’ उनले भने। 

जिल्ला समितिमा एक लाख १० हजार ७ सय ९६ निवेदन दर्ता भएका छन्। भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्तिका लागि उक्त निवेदन दर्ता गराएका हुन्। जिल्लाका १३ वटै पालिकाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दर्ता गराएका उपाध्यायले बताए। जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोबासीले ९३ हजार ५ सय ६६, भूमिहीन सुकुम्बासीले ९ हजार ६ सय ६४ तथा भूमिहीन दलितले ७ हजार ५ सय ६६ निवेदन दर्ता गराएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.