काठमाडाै । आज अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरेर याे दिवस मनाइँदैछ। विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा विभिन्न सचेतनामूलक र प्रकोप नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा आम सर्वसाधारणलाई सचेतना अभियान सञ्चालन गरी सम्बन्धित विभिन्न संघसंस्थाले जानकारी गराउने कार्यक्रहरू रहेका छन्।
पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको संभाव्य जोखिममा रहेको छ। अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायू परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ। विभिन्न कार्यक्रम, सभासम्मेलन, गोष्ठी इत्यादिले जनजागरण फैलाउने अनि हानी न्यूनीकरणका लागि यस दिवसको महत्त्व धेरै छ।
सन् १९८९ को राष्ट्रसंघको साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जागरणको अभिबृद्धिकालागि यस दिवसको सुरुवात गरिएको हो र आज पनि यस दिनमा विभिन्न सञ्चारमाध्यमहरूले विश्वभर यस विषयमा प्रभावकारी ज्ञान, सीप र धारणाको प्रवाह गर्दछन्।