देउवाविरुद्ध चुनाव लड्न सागर ढकालले मागे आर्थिक सहयोग

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सागर ढकालले आफूलाई आर्थिक सहयोग गर्न अपिल गरेका छन् । गुपचुप पैसा लिनुभन्दा खुला रूपमा जनतामा जाने निर्णय गरेको भन्दै ढकालले अनलाइनमार्फत सहयोग गर्न अपिल गरेका हुन् । 

चुनावी प्रचारप्रसारको लागि आर्थिक सहयोगको आवश्यक रहेको हुनाले इसेवा, खल्ती वा बैंक खातामा पैसा जम्मा गर्नका लागि ढकालले सार्वजनिक अपिल गरेका छन् । ‘देश र विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, यहाँहरूलाई अवगत नै छ कि म आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा डडेलधुराबाट उम्मेदवारी दिँदै छु ।

यसरी म चुनावी मैदानमा होमिँदा धेरै जना मलाई आर्थिक सहयोग गर्नका लागि इच्छुक हुनुहुन्छ । हामीलाई चुनावी प्रचार प्रसारको लागि आर्थिक सहयोगको आवश्यक रहेको हुनाले इच्छुक महानुभावहरूले निम्न बमोजिमका सर्तहरू सहित आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।

चुनावी खर्चलाई सकेसम्म कम गर्ने र यातायातका लागि मोटरसाइकलको मात्र प्रयोग गर्ने उनले उल्लेख गरेका छन् । साधारण शाकाहारी खाना खाने, भड्किलो प्रचार प्रसार नगर्ने पनि उनले उल्लेख गरेका छन् । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.