भारतमा जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो चौथो खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्न लागेको हो । बंगलादेशबिरुद्ध हुने खेल नेपाली समयानुसार मध्यान्ह ४: १५ बजे सुरु हुनेछ।
नेपाललाई फाइनल प्रवेशका लागि बंगलादेशलाई कम्तिमा ९–० गोल अन्तरले पराजित गर्नुपर्ने बाध्यता छ। साथै भारत र माल्दिभ्सबीचको खेलको नतिजा पनि कुर्नुपर्नेछ । बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो । बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। माल्दिभ्स र श्रीलंका १–१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन्। आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ। भारतसँग ८–० को हार व्यहोरेपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आश्यकता परेको हो ।
