नेपालमा बाघ संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै ३ सय ५५ पुगेको छ । ‘विश्व बाघ दिवस’का अवसरमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो बाघ संख्या सार्वजनिक गरेका हुन् । सन् २०१८ को पछिल्लो गणनामा २ सय ३५ बाघ रहेको नेपालमा चार वर्षपछिको गणना क्रममा १ सय २० बाघ वृद्धि हुँदै ३ सय ५५ पुगेको हो ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ मुलुकबीचको सम्मेलनले २०२२ सम्म दोब्बर पार्ने लक्ष्य लिएको थियो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र वन तथा भूसंरक्षणमन्त्री दीपक बोहोरासहितको टोलीले अन्तर्राष्ट्रिय समुदायमाझ सन् २०२२ सम्म बाघ संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । त्यतिबेला १ सय २१ बाघ थिए । यसपछि सन् २०१३ को गणनामा नेपालमा १ सय ९८ बाघ पाइएका थिए ।
नेपालले २ सय ५० बाघ पु¥याउने लक्ष्य लिए पनि त्योभन्दा १ सय ५ बाघ थप भएको छ । यो लक्ष्य पूरा गर्ने नेपाल पहिलो राष्ट्र बनेको छ ।