धनगढी । कैलालीमा चट्याङ्ग परेर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान ७:४५ बजेको समयमा मालाखेतीस्थित रेडियण्ट ग्याँस कम्पनी नजिक रोपाइँ गर्न गएका कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ्ग लागेर मृत्यु भएको हो ।
यस्तै उता कञ्चनपुरमा आज बिहान चट्याङ लागेर दुई जना किसानको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका-६ त्रिभुवन बस्तीका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र भीमदत्त नगरपालिका-८ तिलाचौरकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी लाल बहादुर बमका अनुसार दुवै जना किसानको खेतमा काम गर्दै गर्दा चट्याङ लागेर ज्यान गएको हो । बिहानदेखि पानी परेपछि कैलाली-कञ्चनपुरमा किसानहरू रोपाइँमा व्यस्त भएका छन् ।