धनगढी । स्थानीय तहले जनताको प्रत्यक्ष सहभागितामा योजना छनोट गर्नुपर्ने प्रावधान रहे पनि छनोट प्रक्रियामा सहभागी नगराएको भन्दै स्थानीयवासीले वडा कार्यालय घेराउ गरेका छन् । धनगढी उपमहानगरपालिका –८ को वडा कार्यालयले गुपचुपमा योजना छनोट गरेको आरोप लगाउँदै सोही वडाको गणेश टोलवासीले सोमबार वडा कार्यालय घेराउ गरेका हुन् ।
आगामी आर्थिक वर्ष २०७९–८० का लागि वडामा योजना छनोट कार्य चुपगुपमा भएको उनीहरुको आरोप छ । योजना छनोट गर्दा वडा कार्यालयले कुनै पनि जानकारी नगराएको गणेश टोल विकास समितिका अध्यक्ष कमला ओली बुढाथोकीले बताए । ‘टोल भेला नगरेको वडा कार्यालयले वडा भेला गर्दा पनि कुनै जानकारी गराएन’ उनले भने, ‘एकैचोटी वडा भेला भइसकेको सुन्नमा आयो ।’
आफ्ना्े टोलमा बाटो, खानेपानी, विद्युत पोललगायतको समस्या रहे पनि वडाले जानकारी नगराउँदा कुनै पनि योजना नपरेको अध्यक्ष ओलीको भनाइ छ । उहाँले तीन वर्षदेखि भइरहेको डेढ सय मिटर कालोपत्रेको काम अझै पनि अधुरै रहेको बताए ।
स्थानीय तहमा योजना छनोट पहिलो खुड्किलो टोल वडा भेला हो । टोल भेला गरेर बस्तीबाट आएको योजनालाई प्राथमिकीकरण गरी वडाले पालिकामा पठाउने प्रावधान रहेको छ । यसवर्ष चुनावमा समय दिएका कारण कतिपय स्थानीय तहले टोल भेला नगरी टोल विकास समितिबाट सिधै योजना माग गरेका छन् ।
वडा भेला गर्दा गणेश टोल विकास समितिलाई बोलाउन छुटेको वडा कार्यालयले स्वीकार गरेको छ । तर, टोलवासीको गुनासो र मागलाई सम्बोधन गरिने वडा अध्यक्ष जुगराम चौधरीले बताए । ‘हामीले अहिलेसम्म उपमहानगरपालिकामा योजना पठाइसकेका छैनौं’, उनले भने, ‘सो टोलको जायज मागलाई पनि समेटेर उपमहानगरपालिकामा पठाउँछौं ।’
आगामी आर्थिक वर्षमा अधुरा सबै योजनालाई प्राथमिकता दिएर सम्पन्न गर्नेगरी काम गर्न उपमहानगरपालिकाले पत्राचार गरेकाले सोहीअनुसार काम गर्ने वडा अध्यक्ष चौधरीको भनाइ छ ।